चैतभित्रै सुरक्षण मुद्रण शुरु गर्न मन्त्री शर्माको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चैतभित्रै सुरक्षण मुद्रण शुरु गर्न मन्त्री शर्माको निर्देशन



काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र ९सेक्युरिटी प्रिन्टिङ प्रेस० बाट चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिएकी हुन् ।

एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले बताइन् । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने उनको भनाइ थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेसबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समय पछि बैंक नोटसमेत छाप्ने योजना छ ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा केन्द्र पुगेको जानकारी दिए ।

अब आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने सरकारको तयारी छ । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिकरूपमा बाहिरिने रु १० अर्ब जोगिने सरकारको अपेक्षा छ ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १२:०९