सगरमाथा र लुम्बिनी इन्सुरेन्सको एकीकृत कारोबार फागुन २९ गतेबाट सुरु, चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सगरमाथा र लुम्बिनी इन्सुरेन्सको एकीकृत कारोबार फागुन २९ गतेबाट सुरु, चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्ने



काठमाडौं । सगरमाथा र लुम्बिनी इन्सुरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । बीमा प्राधिकरणले सगरमाथा र लुम्बिनीलाई १००ः८० सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । यस्तै, दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ ।

दुवै एक भएपछि अब सगरमाथा लुम्बिनी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । केन्द्रीय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा रहने छ ।

इन्सुरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन् ।

दुवै कम्पनीको आ‍व २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेशियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार १३:५७