नेपाल राष्ट्र बैंकद्वारा दुग्ध सहकारी संघ र पशु फार्मको अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल राष्ट्र बैंकद्वारा दुग्ध सहकारी संघ र पशु फार्मको अवलोकन



काठमाडौं । नेपाल राष्ट्र बैंकको एक टोलीले बागलुङ दुग्ध उत्पादक सहकारी संघ र बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला-२ को अवलोकन गरेको छ ।

सहकारीमार्फत उत्पादनको क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले सञ्चालन गरेका गतिविधिका बारेमा राष्ट्र बैंकको टोलीले जानकारी लिएको थियो । बागलुङ दुग्ध उत्पादक सहकारी संघले १४ वटा दुग्ध सहकारी संस्थामा आवद्ध कृषक सेयर सदस्यहरुको दुध बिक्री वितरणका साथै प्रशोधनको काम गर्दै आएको छ । दुग्ध सहकारीहरुले सदस्यको दुध संकलन गरी संघमा पठाउने र संघले बजारीकरण गर्दै आएको २ दशक भन्दा बढी भइसकेको छ ।

राष्ट्र बैंकका निर्देशक लक्ष्मी प्रसाद प्रसाई, नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक सम्झना ढकाल, काठमाडौंका उपनिर्देशक प्रेम प्रसाद आचार्य, सहायक निर्देशक स्वेता तिमिल्सिना र सहायक निर्देशक विजया गौतमको टोलीले काठेखोला गाउँपालिका वडा नंं २ डुडियामा रहेको बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको पशु फार्म र बागलुङ दुग्ध उत्पादक सहकारी संघको अवलोकन गरेका हुन् ।

सहकारीमार्फत दुग्ध उत्पादनका क्षेत्रमा गरेको काम स्रहानिय रहेको नेपाल राष्ट्र बैंकका निर्देशक लक्ष्मी प्रसाद प्रसाईले बताएका थिए । बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका ६९ जना सेयर सदस्यहरुको ४ करोड लगानी डुडियामा दुग्ध फार्म सञ्चालनमा आएको छ । यसैबीच कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय तथा प्रशिक्षण कार्यालय इनरुवाका सहकारी रजिष्ट्रार हरि बहादुर खत्री सहितको टोलीले पनि बिहीबार नै बागलुङ दुग्ध उत्पादक सहकारी संघको अवलोकन गरेको थियो ।

दुध उत्पादन र प्रशोधनका क्षेत्रमा संघले गरेको काममा राज्यका तर्फबाट सहयोग र समन्वय आवश्यक रहेको रजिष्ट्रार खत्रीले बताएका थिए । उनले सहकारीका सदस्यहरुको लगानीमा दुग्ध सहकारी संस्थामा सदस्यहरुले उत्पादन गरेको दुध उत्पादन हुने र संस्थाले संघसम्म ढुवानी गरी संघले बिक्री वितरण र प्रशोधन गरेर सदस्यहरुलाई आयआर्जनमा सहयोग गरेको उनको भनाइ थियो ।

उत्पादन क्षेत्रमा लाग्ने सहकारी संस्था वा व्यक्तिलाई उत्पादनको आधारमा अनुदान दिने र प्रविधि सहित प्रशोधन मेसिनहरु राज्यका तर्फबाट सहयोग हुनसकेमा अझै धेरै प्रगति गर्न सकिने उनको भनाइ थियो । दुवै टोलीलाई संघ र संस्थाको बारेमा अध्यक्ष दिपक गौतमले जानकारी गराएका थिए ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार १५:२५