माघमा बीमा सरेण्डर गर्नेको संख्या बढ्यो, १ अर्ब ३२ करोडको पोलिसी सरेण्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

माघमा बीमा सरेण्डर गर्नेको संख्या बढ्यो, १ अर्ब ३२ करोडको पोलिसी सरेण्डर



काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा बीमा पोलिसी त्याग्ने बीमितको संख्या ह्वातै बढेको छ । बीमा प्राधिकरणका अनुसार पुस महिनाको तुलनामा माघमा पोलिसी त्याग्नेको संख्या ५१.८६ प्रतिशतले बढेको हो ।

माघमा १८ जीवन बीमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको ९ हजार ८३९ बीमा पोलिसी सरेन्डर भएको छ । उक्त पोलिसी सरेन्डर गत पुस महिनामा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख सरेन्डर भएको थियो ।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । माघमा नेपाल लाइफका २ हजार ७१९ बीमितले ३८ करोड ३ लाख ६१ हजार रुपैयाँ पोलिसी त्याग गरेका हुन् ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानको १० करोड ८६ लाख ६५ हजार रुपैयाँ बराबरको १ हजार ६६२ बीमा पोलिसी सरेन्डर भएको छ । त्यसैगरी यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको ८०२ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

यस्तै, सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ३० करोड ४६ लाख २९ हजार रुपैयाँको एक हजार ५८५ वटा, मेट लाइफको ३ करोड १७ लाख ८३ हजार रुपैयाँ बराबरको ३५४ वटा, एशियन लाइफको २१ करोड ३२ लाख ३५ हजार रुपैयाँको एक हजार ४९३ वटा र गुँरास लाइफ इन्स्योरेन्सको १ करोड ९४ लाख १३ हजार रुपैयाँ बराबरको १९६ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

त्यसैगरी, बीमितहरुले प्राइम लाइफबाट २ करोड २६ लाख ९४ हजार रुपैयाँ बराबरको ४०२ वटा, आईएमई लाइफबाट ५६ लाख ३६ हजार रुपैयाँ बराबरको ६६ वटा, युनियन लाइफबाट २ करोड ३२ लाख ४० हजार रुपैयाँको ७६ वटा र सन नेपाल लाइफ इन्स्योरेन्सबाट एक करोड २ लाख ४० हजार रुपैयाँ बराबरको ७६ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ९९ लाख ४२ हजार रुपैयाँ बराबरको ६५ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ७० लाख ४ हजार रुपैयाँ बराबरको १३९ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ७८ वटा पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट ४५ लाख ८३ हजार रुपैयाँ बराबरको २८ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ६२ लाख ६६ हजार रुपैयाँ बराबरको ३० वटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५० लाख २४ हजार रुपैयाँ बराबरको ३९ वटा र सूर्यज्योति लाइफको २ करोड ११ लाख रुपैयाँ बराबरको ६१ वटा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार १६:०७