कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा सुचारु हुन नसक्ने सम्भावना रहन्छ : बैंकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा सुचारु हुन नसक्ने सम्भावना रहन्छ : बैंकर



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि यथाशीघ्र कारबाही गर्न माग गरेको छ।

नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय र लघुवित्त संस्थाहरुका कर्मचारीहरुप्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमणको भर्त्सना गरेको हाे।

‘बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आएको कुरा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा मुलुकमा आइपरेको महाभूकम्प, कोभिड महामारीजस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीहरुमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दीप्रति हाम्रो घोर आपत्ति रहेको छ र त्यस्ता घट्नामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ। ‘यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षाका लागि बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ’, विज्ञप्तिमा भनिएको छ।

बैंकिङजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सिर्जना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यसप्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

समस्त ग्राहककोे हकहितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताको बचतलाई सुरक्षण दिँदै ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडि बढिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘यस संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १५:२८