परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षपुष्प कमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार लगानी बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएका छन् । उनले उक्त परियोजनाका विकासकर्ताहरूसँग भेटघाट र अन्तर्क्रिया पनि गरेका हुन्

प्रधानमन्त्री, मुख्य सचिव लगायत विशिष्ट अतिथिहरूलाई बोर्डको कार्यालयमा स्वागत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए।

अन्तर्क्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांङ्गदी-२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी-६ अर्ध-जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजना डाबर नेपाल, चीन-नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए।

कार्यक्रमको अन्तमा प्रधानमन्त्रीले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार १२:४६