एक महिनामा काम खोज्दै विदेशिए ६१ हजार ८४५ , धेरैको रोजाइ मलेशिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एक महिनामा काम खोज्दै विदेशिए ६१ हजार ८४५ , धेरैको रोजाइ मलेशिया



काठमाडौं । राजनीतिक परिवर्तन, सरकार फेरबदल भए पनि नेपालमा रोजगारीका अवसर नहुँदा लाखौं जनशक्ति विदेश पस्न बाध्य छन्। वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिने गरी ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन्।

माघमा उक्त स्वीकृति लिएर कुल ६४ हजार २८४ जना विदेशिएका थिए । त्यसैगरी, फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

यस अवधिमा म्यानपावर एजेन्सीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या भने ५ हजार ५३६ जना छन् । जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ ।

विभागका अनुसार फागुन महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट गएका छन् । उक्त जिल्लाबाट यस अवधिमा ३ हजार १२९ विदेशिएका छन् । त्यस्तै, अर्काे झापाबाट २ हजार ७३५, मोरङबाट २ हजार ३९६, सिराहाबाट २ हजार ३४५, महोत्तरीबाट २ हजार ३०५, रुपन्देहीबाट १ हजार ८१६ र सर्लाहीबाट १ हजार ७२५ जना विदेशिएका छन् ।

मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना विदेशिएका छन् । साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कुवेत लगाएतका देशहरु रहेका छन्। यस अवधिमा मलेसियाको लागि मात्रै १९ हजार ८२४ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यस्तै, साउदी अरबका लागि ९ हजार ५०३ जना, कतारमा ११ हजार ३०३, कुवेतका लागि २ हजार ४६२,कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् ।

रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।

प्रकाशित : ५ चैत्र २०७९, आईतवार १६:५७