बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक आयोजना गर्ने प्रधानमन्त्रीको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक, लघुवित्त र सहकारीको बृहत समीक्षा बैठक आयोजना गर्ने प्रधानमन्त्रीको तयारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने भएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको भन्दै तत्काल सबैलाई राखेर छलफल गर्ने बताएका हुन् ।

‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ।’’ प्रधानमन्त्रीको भनाई उद्धतगर्दै प्रधानमन्त्रीको सचिवालयले लेखेको छ ।

प्रधानमन्त्रीले भनेका छन् ‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ। त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’’

बैठकमा प्रधानमन्त्रीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : ५ चैत्र २०७९, आईतवार १८:०५