चैत १० देखि नेपाल फाइभपी अन्तर्राष्ट्रिय प्रदर्शनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चैत १० देखि नेपाल फाइभपी अन्तर्राष्ट्रिय प्रदर्शनी



काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा चैत १० देखि १२ सम्म भृकुटीमण्डपमा नेपाल फाइभपी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएका छन् । फाइभपी अर्थात् देशभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार–व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्नका लागि साझा मञ्च प्रदान गर्ने अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

प्रदर्शनीमा एक स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ–संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस्, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरोगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने जनाइएको छ ।

प्रदर्शनीमार्फत पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार–व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले अपेक्षा व्यक्त गरेका छन् ।

प्रदर्शनीको सहआयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाका रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको जनाइएको छ । ‘सप्लायर्स र उत्पादकहरूको साझा मञ्च मात्र नभएर नेपाल फाइभपीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउनुका साथै संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासलाई भित्र्याउनेछ,’ नेपाल फाइभपी एक्स्पोका आयोजकले दाबी गरेका छन् ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १७:४०