बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डको सबैभन्दा ठूलो दुई अर्बको संयुुक्त लगानी वल्र्डलिंकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डको सबैभन्दा ठूलो दुई अर्बको संयुुक्त लगानी वल्र्डलिंकमा



काठमाडाैं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वल्र्डलिंकले प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो । सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा उच्च हो ।

वल्र्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ । वल्र्डलिंक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेछ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ । कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वल्र्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ । साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । धेरै हजार किलोमिटर फाइबर विछ्याएर यो हासिल गरिएको छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरेनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ । वल्र्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ । गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्नेछ ।

अन्य एशियाली राष्ट्रहरुको तुलनामा, नेपालको पहुँच डिजिटल पहुँचमा कम छ, जसले समुदाय र व्यवसायको विकासमा वास्तविक चुनौतीहरु सिर्जना गरेको छ । सर्वसाधारणका लागि सस्तो र गुणस्तरीय इन्टरनेटको पहुँचमा सुधारले नेपालको आर्थिक वृद्धि र समग्र विकासमा योगदान पु¥याउनेछ । यो संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यमध्ये एक पनि हो ।
वल्र्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाल भन्छन्ः ‘हामीले यसमा गर्व मात्रै गर्दैनौंकि, लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा पनि प्रतिवद्ध छौ ।

यो २७ बर्षको हाम्रो समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम पनि हो । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वल्र्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ । यसले अन्य कम्पनीलाई पनि प्रेरित गरेर रोल मोडल बनाउन नेतृत्व गर्नेछ । यो साझेदारीले ‘जुनसुकै बेला र जहाँ पनि जडान’ गर्ने हाम्रो उद्देश्यलाई अभिप्रेरित गरेको छ र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको छ ।’

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्राविधि र टेलिकमका प्रबन्ध निर्देशक र प्रमुख अभिनव सिन्हा भन्छन्ः ‘हामी यसका अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा वल्र्डलिंकको विस्तार र प्रभावबाट प्रभावित भईरहेका छौ । हामीले सन् २०१९ देखि कम्पनीमा लगानी गरेसँगै उनीहरुले हजारौ घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेका छन् । हाम्रो दोस्रो लगानीले वल्र्ड लिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्नेछ ।’

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट भन्छिन् भन्छिनः ‘बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वल्र्डलिंकलाई आफ्नो समर्थन जारी राखेको देख्दा म खुसी छु । नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्टरण एक प्रमुख कारक हो र यस क्षेत्रका घर परिवार र व्यवसावहरुलाई समर्थन गर्नेजस्ता लगानीहरु महत्वपूर्ण छन् ।’

डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) (डोल्मा इम्प्याक्ट फण्ड आईआई का प्रबन्धक) प्राध्यापक टिम गोचर ओबीई भन्छनः ‘छोटो अवधिको आर्थिक फड्को मार्ने नेपालको सबैभन्दा राम्रो मौका भनेको डिजिटल उद्योग हो । हामीले हाम्रो प्रविधि लगानीमा असाधारण वृद्धि देखेका छौ, एआई सेवाहरुमा मात्र ५ हजार भन्दा बढी नेपालको लागि गुणस्तरीय रोजगारी छ । तर यी कामहरु मुख्यतया सहरी क्षेत्रहरुमा सीमित छन्, जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ, वल्र्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउनेछ । जसले गर्दा स्वास्थ्य, शिक्षा, वित्तिय र व्यापारदेखि व्यापार सेवाहरुमा राम्रो पहुँचका साथै विश्वव्यापी डिजिटल अर्थतन्त्रमा व्यापक सहभागिता हुनेछ ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलवार १४:२७