चक्रपथ बिस्तार गर्न कलंकी–बसुन्धरा ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चक्रपथ बिस्तार गर्न कलंकी–बसुन्धरा ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र



काठमाडौं । कलंकी–बसुन्धरा चक्रपथ बिस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र गतिमा अघि बढेको छ ।
‘ट्रयाक’ निर्माण चक्रपथ सुधार योजनाले गर्दैछ । गत साउनदेखि आयोजनाले ‘ट्रयाक’ निर्माण सुरु गरेको हो । ‘ट्रयाक’ निर्माण गर्न कलंकी–बसुन्धरा सडकलाई चार खण्डमा विभाजन गरिएको छ ।

६ मिटर चौडाईमा बन्ने ‘ट्रयाक’को कुल लम्वाई ८.२ किलोमिटर छ । आयोजनाले ‘ट्रयाक’ निर्माण गर्न दुई वटा ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ । सुधार योजनाकी सुचना अधिकृत सुमित्रा अधिकारीले सम्झौता अनुसार ‘ट्रयाक’ निर्माण २० महिनाभित्र सकिनु पर्ने बताईन् ।

उनले भनिन्,‘कलंकी–बसुन्धरा सडक चक्रपथ विस्तारकै दोस्रो फेज हो । यसका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । दुवैतर्फ गरि यसको चौडाई ६ मिटर छ । ट्रयाक निर्माणलाई चार वटा ‘सेक्सन’मा विभाजन गरिएका छन् । साउनदेखि नै सुरु भएको ‘ट्रयाक’ निर्माण २० महिनाभित्र सक्ने योजना छ ।’

सुधार योजनाका अनुसार ‘सर्भिस ट्रयाक’मा अहिले खानेपानी पानी तथा ढलको निकासका लागि आवश्यक ठुलाठुला पाइप राख्ने काम हुँदैछ । सडक किनारमा राखिएका विद्युतका पोल हटाई सकिएको छ । आयोजनाले हरित पेटीका अन्तरगत रोपिएका रुख चार वर्ष अघि नै काटि सकेको छ । योजनाकी सुचना अधिकृत अधिकारीले ‘ट्रयाक’मा अहिले खानेपानी तथा ढलक पाइप राख्ने काम भइरहेको बताइन् ।

उनले भनिन्,‘सर्भिस ट्रयाकमा अहिले मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम हुँदैछ । ढलका ठुलाठुला पाइप पनि राख्नु पर्नेछ । यो त्यो काम पनि अहिले धमाधम हुँदैछ । विद्युतका पोल हटाइ सकिएको छ । ‘ट्रयाक’ निर्माण सकिएपछि कलंकी–बसुन्धरा विस्तारको मुल काम होला ।’

योजनाका अनुसार दोस्रो फेज अन्तरगत निर्माण गर्ने भनिएको कलंकी–बसुन्धरा सडकको मुलखण्ड भने चिनियाँ सरकारको लगानीमा निर्माण हुनेछ । सडक आठ लेनको बन्नेछ । यसका लागि आवश्यक डिपिआरडिटेल प्रोजेक्ट रिपोर्ट’ चिनियाँ सरकारले निर्माण गर्दैछ । सडकको सम्पुर्ण बजेट चिनियाँ सरकारले नै उपलब्ध गराउने र डिपिआर पनि उसैले निर्माण गरिरहेको हुँदा सडक निर्माणको लागत रकम बारे जानकारी नभएको योजनाकी सुचना अधिकृत अधिकारीले बताइन् ।


उनले भनिन्,‘कलंकी–बसुन्धरा सडक आठ लेनको बन्नेछ । यसको अहिले डिपिआर निर्माण हुँदैछ । चिनियाँ सरकारको लगानीमा निर्माण हुने हुँदा डिपिआर पनि उसैले निर्माण गरिरहेको छ । सडकको लागत रकम बारे अहिले नै भन्न सकिने अवस्था छैन । डिपिआर निर्माणपछि मात्रै यसको लागत रकम भन्न सकिन्छ ।’

कलंकी–बसुन्धरा सडक निर्माणका बखत सवारी साधन ‘सर्भिस ट्रयाक’तर्फ ‘डाइभर्ट’ गरिनेछ । सडक निर्माण अवधिभर कलंकी–बसुन्धरा सडकभित्रको आठ लेन पूर्णरुपमा बन्द गरिनेछ । द्रुत गतिमा निर्माण कार्य अघि बढाउने उद्येश्यले यस्तो गर्न लागिएको योजनाको भनाईछ । ‘सर्भिस ट्रयाक’ निर्माणलाई तिब्र पारिनुका कारण यही रहेको सुचना अधिकृत अधिकारीले भनिन् । ‘ट्रयाक’ निर्माणका सम्पुर्ण काम नेपाल सरकारकै लगानीमा हुँदैछ ।

कलंकी–बसुन्धरा निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकरबीच सन् ०१८ मै सम्झौता भएको थियो । कोभिड–१९ महामारीका कारण निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएको योजनाको भनाईछ । सम्झौतामा सडक बिस्तार महाराजगंजसम्मै हुने भनिए पनि अहिले बसुन्धरासम्म मात्रै निर्माण कार्य हुनेछ । मुआब्जा समस्याका कारण महाराजगंजसम्म सडक विस्तार नहुने योजनाकी सुचना अधिकृत अधिकारीले बताइन् ।

उनले भनिन्,‘महाराजगंजमा जग्गाको मुआब्जा वितरणमा समस्या छ । त्यसो हुँदा दोस्रो चरणको चक्रपथ विस्तार बसुन्धरासम्म मात्रै हुनेछ । मुआब्जाको समस्या समाधान भए लगतै बाँकी काम पनि होला । तर, अहिले केमा स्पष्ट हुनु पर्छ भने चक्रपथ विस्तार बसुन्धरासम्म मात्रै हुनेछ ।’

प्रकाशित : ८ चैत्र २०७९, बुधबार १४:१२