सहकारी दिवसका अवसरमा बागलुङमा महिला गोष्ठी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारी दिवसका अवसरमा बागलुङमा महिला गोष्ठी हुने



बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङमा सहकारीमा महिला सहभागिता विषयक महिला सहकारीकर्मीहरुको गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा विभिन्न सहकारी संघ संस्थाहरु सहआयोजक बनेर सहकारीमा महिला सहभागिता र नेतृत्व विषयक जिल्ला स्तरीय गोष्ठी आयोजना गरिएको हो ।

जिल्लाभरका सहकारीमा आवद्ध महिलाहरुको सहभागितामा चैत १७ गते शुक्रवार सम्पन्न गरिने गोष्ठीले सबल सहकारी निर्माणमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सहयोग पुग्ने अपेक्षा लिइएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिए ।

नेपालको सहकारी अभियानमा महिलाको सहभागिता धेरै छ, सहकारीको विकासमा पूँजि निर्माणदेखि सहकारी सञ्चालनमा महिलाको भूमिका राम्रो छ ।

महिलाहरुले मात्रै सञ्चालन गरेका सहकारीहरु वित्तीय सुशासन लगायत हरेक क्षेत्रमा अब्बल छन्, महिला पुरुष मिलेर सञ्चालन गरेका सहकारीहरुमा पनि महिलाको सहभागिता धेरै छ । अध्यक्ष जिसीले भने,–‘तर नेतृत्वमा महिलाको सहभागिता सहकारी ऐनले व्यवस्था गरेको भन्दा पनि धेरै कम छ, त्यसैले नेतृत्वमा महिला सहभागिता स्थापित गर्न र सबल सहकारी निर्माणमा महिलाको भूमिका बढाउन गोष्ठी सहयोगी हुनेछ ।’

सहकारी ऐनमा सहकारी संघ संस्थाको सञ्चालक समितिमा महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गर्नु पर्ने व्यवस्था छ, अझै पनि सञ्चालक समिति, त्यसमा पनि पदाधिकारीमा महिला सहभागिता पुगेको छैन, महिला सहभागिता बढाउन, सहभागिता बढाउन मात्रै होइन, नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि समेत गोष्ठीले सहयोग गर्ने अपेक्षा लिइएको जिसीले बताए ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालन (आइसीए ग्लोवल बोर्ड मेम्बर) ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न हुन लागेको संघले जनाएको छ ।

गोष्ठीमा सहकारी संघ संस्थामा महिला सहभागिता, नेतृत्वमा महिलाको भूमिका लगायतका विषयमा छलफल गरी महिलाको अर्थपूर्ण सहभागिताका लागि निष्कर्ष सहितको बागलुङ घोषणापत्र जारी गरिने भएको छ ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङमा हरेक वर्ष विविध कार्यक्रम हुदै आएका छन् । यस वर्षको सहकारी दिवसमा कृषि मेला प्रदर्शनी, बजार सरसफाई, अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रम हुने भएका छन् ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा चैत १८ गते बजार सरसफाई र २० गते मुल समारोह, कृषि सहकारी संघ र तरकारी तथा फलफूल सहकारी संघको आयोजनामा कृषि मेला प्रदर्शनी, जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहकारीको दिगोपना, स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको सहकारी दिवस बागलुङका सम्पूर्ण पालिकाहरुमा मनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले आव्हान गरेको छ ।

जिल्लाका सबै पालिकालाई पत्र लेख्दै जिल्ला सहकारी संघ बागलुङले आफ्नो पालिका भित्रका सहकारीहरुको सहभागितामा सहकारी दिवस मनाउन आव्हान गरेको अध्यक्ष जिसीले जानकारी दिए ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार ११:२३