जीवन बीमा कम्पनीहरुको बीमाशुल्कमा बृद्धि, नेपाल लाइफ अग्रस्थानमा हुदाँ अन्यको अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीहरुको बीमाशुल्कमा बृद्धि, नेपाल लाइफ अग्रस्थानमा हुदाँ अन्यको अवस्था कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७५ करोड ३७ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.६८ प्रतिशतले बढी हो ।

गत वर्षको फागुन महिनासम्म यस्तो व्यावसाय ९२ अर्ब १९ करोड १५ लाख रुपैयाँ बराबर थियो। ८ महिनाको अवधिसम्ममा कम्पनीहरुको १ करोड ४० लाख एक हजार ५६७ वटा सक्रिय बीमालेख रहेका छन् । फागुन महिनामा मात्रै जीबन बीमा कम्पनीहरुले कुल १० अर्ब ३६ करोड २३ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले ९ लाख ८० हजार ५६० वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । त्यस्तै,जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा ६ खर्ब ४२ अर्ब १५ करोड ९६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्कबाट आर्जन गर्न सफल भएका छन्।

चालु आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले नविकरणबाट मात्रै ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। गत वर्ष बीमालेख नविकरण गरेर ६६ अर्ब २८ करोड ८५ लाख रुपैयाँ संकलन गरेका थिए।

त्यसैगरी, यस अवधिसम्ममा बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमै रहेको छ । यस अवधिमा २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ बराबरको बीमाशुल्क नेपाल लाइफले मात्रै आर्जन गरेको छ । कूल बीमा शुल्क आम्दानीको आधारमा दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीले ११ अर्ब ४९ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा १० अर्ब २२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

चौथोमा राष्ट्रिय बीमा संस्थान परेको छ । सो कम्पनीले छ अर्ब ७३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, पाँचौं नम्वरमा सूर्य ज्योति लाइफ परेको छ । सो कम्पनीले पाँच अर्ब ५१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, युनियन लाइफले पाँच अर्ब १७ करोड, एशियन लाइफले चार अर्ब ५९ करोड, सिटिजन लाइफले तीन अर्ब ५७ करोड, मेट लाइफ तीन अर्ब ३९ करोड, प्राइम लाइफ दुई अर्ब ९६ करोड, आईएमइ लाइफ दुई अर्ब ६२ करोड, सन नेपाल लाइफ दुई अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

सबै भन्दा कम बीमाशूल्क घट्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको बीमाशूल्क ०.९४ प्रतिशतले घटेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार १३:५२