बीमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्ने चटारो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बीमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्ने चटारो



काठमाडौं । बीमा कम्पनीहरु चुक्ता पुँजी बृद्धि गर्ने तयारीमा जुटेका छन् । बीमा प्राधिकरणले २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीको हकमा ५ अर्ब र निर्जीवन बीमा कम्पनीको हकमा भने साढे २ अर्ब चुक्ता पुँजी पु-याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु पुँजीवृद्धिको तयारीमा जुटेका हुन् ।

 हाल जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम छ । २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउन नसक्ने संस्थाले मर्जर तथा एक्विजेशनमा गएर पुँजी बढाउनुपर्ने नीति छ ।

प्राधिकरणले यस निती ल्याउनु भन्दा पहिले निर्जीवन बीमा व्यवसाय गर्ने २० वटा र जीबन बीमा गर्ने १९ वटा कम्पनी थिए । बीमा क्षेत्रमा हालसम्म जीवन र निर्जीवन गरी २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् । जसमध्ये निर्जीवन बीमा क्षेत्रमा १२ र जीवन बीमा क्षेत्रमा ९ वटा कम्पनीहरु रहेका छन् ।

   १२ कम्पनीमध्ये ८ वटा निर्जीवन कम्पनीको मर्जर प्रक्रिया पुरा भएर ४ कम्पनी कायम भएको छ । यसमा सगरमाथा र लुम्बिनी जनरलले ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले ‘सिद्धार्थ प्रिमियर’, हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’, साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सले ‘सानिमा जिआईसी’ को नामबाट संयुक्त कारोबार सुरु गरेका छन्। चुक्ता पुँजीको हकमा भने सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीको चुक्ता पुँजी क्रमश २ अर्ब ८० करोड रुपैंया र दुई अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ, जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा बढी हो । त्यस्तै बिना मर्जरमा गई शिखर इन्स्योरेन्सले पनि नियामकले तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन सफल भएको छ ।

त्यसैगरी, सानिमा जिआइसी इन्स्योरेन्सले मर्जर पश्चात पनि प्राधिकरणले तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन सकेको छैन। यसले चुक्ता पुँजी पुर्याउन अझै ५० करोड पुँजी बृद्धि गर्नुपर्ने छ ।  मर्जर पश्चात हाल २ अर्ब मात्र पुँजी बृद्धि भएको छ । अर्को हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि मर्जर पश्चातपनि पुँजी पुगेको छैन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

त्यस्तै, ४ निर्जीवन कम्पनीले भने मर्जर प्रक्रिया पुरा गर्न बाकी छन् । यी पनि मर्जर पछि दुईवटा कायम हुन्छन् । यी कम्पनीहरु अजोड, यूनाइटेड र प्रुडेन्सियल, आईएमई जनरल हुन।  प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । एकीकृत कारोबार पश्चात बन्ने नयाँ कम्पनीको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।

 त्यस्तै, जिवन बीमातर्फ मर्जर प्रक्रियामा रहेका ९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटाले २ वटामा कायम भई एकीकृत कारोबार थालनी गरिसकेका छन् । जसमा सूर्या लाइफ र ज्योति लाइफले ‘सूर्यज्योति लाइफ’, रिलायन्स लाइफ र सानिमा लाइफले ‘सानिमा रिलायन्स लाइफ’, को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।  प्राइम, यूनियन र गुराँस, प्रभु लाइफ र महालक्ष्मी लाइफ गरेर ५ वटा कम्पनी भने मर्जर प्रक्रियामै छन् ।

 जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफको पुँजी प्राधिकरणले तोके बमोजिम पुगिसकेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब माथि छ । जुन नियामकले तोके भन्दा बढी हो । मर्जर पश्चात सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस्तै, मर्जरपछि एकीकृत कारोबार थालनी गरेको सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै , नेशनलको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । भने एलआइसीले हकप्रद सेयरमार्फत पुँजी बढाउने प्रक्रिया अघि बढाएको छ । हाल एलआइसीको पुँजी २ अर्ब ६५ करोड माथि छ । यस्तै, एशियनको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

 मर्जरमा गएकालाई सुविधा

 मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमध्ये मर्जरपश्चात पनि केही कम्पनीहरुको चुक्ता पुँजी नपुग्ने देखिन्छ । मर्ज भई एकीकृत करोबार गरेका कम्पनीहरुको पनि पुँजी पुगेको छैन ।

त्यस्ता कम्पनीहरुलाई प्राधिकरणले हकप्रद सेयर जारी गर्न पाउने सुविधा दिने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । जुन कम्पनी मर्जरमा पनि गएको छैन र पुँजी पुर्याउने कोशिस नगरेका कम्पनीका लागि भने छुट्टै निर्णय हुने उनले जानकारी दिए ।  मर्जरपश्चात एकीकृत कारोबार गरेका हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न पाउनेछन् । यस्तै, मर्जर प्रक्रियामा गएका अजोड र यूनाइटेडले पनि हकप्रद सेयर जारी गर्ने सुविधा पाउनेछन् ।

यस्तै, एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४८ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको २ अर्ब एक करोड रुपैयाँ रहेको छ । यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहीबार १२:३०