उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत



काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ ।

स्वीकृत मतदाता नामावलीबमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला ८८ लाख ५२ हजार ४६, पुरुष ९१ लाख ४९ हजार तीन सय ३५ र अन्य एक सय ८५ गरी जम्मा एक करोड ८० लाख एक हजार पाँच सय ६६ कायम रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ ।

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५, बारा क्षेत्र नं २ मा दुई सय ३७ थप भई एक लाख पाँच हजार दुई सय ४८ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक सय ८५ घटी भई एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आजसम्म देशभर १० हजार आठ सय ९२ मतदान स्थल र २२ हजार दुई सय ३७ मतदान केन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ ।

आयोगको निर्णयानुसार चितवनमा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली सङ्कलन कार्य २०७९ माघ २ गतेदेखि यथावत जारी रहेको छ ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार ११:२३