धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी, चार पटक म्याद थप्दा पनि पुरा भएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी, चार पटक म्याद थप्दा पनि पुरा भएन



काठमाडौं । निर्धारित समयभित्रै काम सम्पन्न भएको भए यतिबेला धरहरा सर्वसाधरणका लागि खुला भइसकेको हुने थियो । तर, ठेकेदार कम्पनीले चौथो पटक म्याद थप गर्दा पनि निर्माणको काम पुरा गर्न सकेको छैन ।

१२ बैशाख २०७२ को भुकम्पले ध्वस्त धरहराको पुनर्निर्माण सुरु भएको ४ वर्ष बितिसकेको छ । यस अवधिमा ४ पटक म्याद थप भइसकेको छ । तर, पुनर्निमाणको काम अझै १९ प्रतिशत बाँकी छ । धरहार पुनर्निर्माण गर्ने जिम्मा पाएको भवन विभागस्थित आयोजना कार्यान्वयन इकाईका निर्देशक कोशनाथ अधिकारीले १९ प्रतिशत काम अझै बाँकी रहेको बताए ।

उनले भने,‘धरहरा पुनर्निर्माणको १९ प्रतिशत काम बाँकी नै छ । काम सक्न यसअघि चार पटक म्याद थप भयो । तर, काम सकिएन । फेरी पनि म्याद थप गर्नु पर्ने अवस्था आएको छ । अब म्याद थप गर्दा पाचौं पटक पुग्छ होला ।’

इकाईका निर्देशक अधिकारीले ठेक्का सम्झौता हुँदा बखतको नक्सा बाहेक पनि संरचना थप गर्नु पर्ने भएको हुँदा पुनर्निर्माण कार्य ढिला भएको बताए । उनले भने, ‘हामीले जुन नक्सा अनुसार ठेक्का सम्झौता गरेका थियौं, त्यही अनुसार काम भएको भए यतिबेला सकिसक्थ्यो । तर, पछिनक्सा बाहेक पनि संरचना थप गर्नु पर्यो । सल्लाह अनुसार नै संरचना थप गरिएको हो । त्यसो हुँदा निर्माण कार्य ढिला हुन पुग्यो ।’

तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि १४ असोज ०७५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार दुई वर्षमा काम सक्नु पर्ने थियो । तर, निर्धारित समयभित्र काम नहुँदा १६ असार ०७८ मा पहिलो पटक म्याद थप भयो । उक्त अवधिमा पनि काम पुरा हुन सकेन । त्यसपछि, १० पुष ०७८ मा दोस्रो पटक म्याद थप भयो । तर, काम पुरा हुन सकेन । त्यसपछि ३० चैत ०७८ तेस्रो र ३० पुस ०७९ मा चौथो पटक पटक म्याद थप भयो । पुनर्निर्माणको काम अझै १९ प्रतिशत बाँकी छ । त्यसो हुँदा इकाई पाँचौ पटक म्याद थपको तयारीमा छ ।

निर्माण कार्य पुरा नहुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १२ बैशाख ०७८ मै धरहराको उद्घाटन गरिसकेका छन् । इकाईका निर्देशक अधिकारीका अनुसार कर्मचारी सञ्चय कोषसँग जग्गाको विवाद हुँदा पनि पुनर्निर्माणको काम प्रभावित भएको हो । धरहरा र काठमाडौं मलको बीच भागस्थित उपागु मार्गमा पक्की सडक निर्माण गर्ने योजना छ । सोहीस्थानमा उपगु मन्दिर पनि बनाउने योजना छ । कोषसँगको विवाद सोही जग्गाका लागि हो । मल कोषको स्वामित्व रहेको छ ।

इकाई निर्देशक अधिकारीले भने,‘पुनर्निर्माणको ८१ प्रतिशत काम सकिएको छ । अब बाँकी १९ प्रतिशत काम काठमाडौं मल र धरहराको बिच भागमा छ । जहाँ जग्गाको विवाद छ । उक्त ठाउँमा सडक र मन्दिर बनाउने योजना छ । तर, कोषले उक्त जग्गा आफ्नो दाबी गरिरहेको छ । विवाद मिलेको छैन । त्यसो हुँदा काम ढिला हुन पुगेको छ ।’

तर, इकाईले लगाएको आरोप गलत रहेको कर्मचारी सञ्चय कोषको दाबी छ । बरु, इकाईले नै सम्झौता अनुसारको कार्य नगरेको कोषको भनाई छ । कोषका सुचना अधिकारी दामोदर सुवेदीले धरहार निर्माणमा जग्गा प्राप्तीको बिषयलाई लिएर इकाईले लगाएको आरोप गलत रहेको बताए ।

उनले भने,‘कोषको कारण धरहरा निर्माण ढिला भयो भन्नु गलत हो । सरोकारवाला निकायबीच आपसी सहयोग र समन्वयमा एकमुष्ठ सम्बोधन हुन सके कुनै समस्या नै छैन ।’

कोषका अनुसार इकाईले उल्टो जग्गा सट्टापट्टा हुँदा बखतको सहमति कार्यन्वयन गरेको छैन । मन्त्रीपरिषद् निर्णय अनुसार कोषको भवनको दक्षिणतर्फस्थित ‘बी ब्लक’ले ओगटेको ८ सय ७२ दशमलव ६ वर्गमिटर जग्गा धरहरा पुनर्निर्माणका लागि दिने र त्यस बापत धरहाराले तत्कालिन गोश्वारा हुलाक कार्यालय मुल सडकसँगै जोडिएको पाँच सय ३३ दशमलव ८९ वर्गमिटर जग्गा कोषलाई दिने सहमति थियो । सहमति अनुसार जग्गा सट्टापट्टा भएको तर, भत्काईएका भवन इकाईले अझैसम्म मर्मत नगरेको कोषको भनाई छ ।

कोषका सुचना अधिकारी सुवेदीले भने,‘कोष र इकाईबीच जग्गा सट्टापट्टा गर्ने सहमति भयो । जग्गा खाली गराउन इकाईले कोषको भवन भत्कायो । तर, सँगै जोडिएको भवन मर्मत गरेन । त्यसो हुँदा कोषको स्वामित्वमा रहेको काठमाडौं मलको दक्षिणतर्फको भवन विरुप अवस्था छ । सहमति अनुसार उक्त भवन इकाईले नै मर्मत गर्नु पर्ने छ ।’ कोषको स्वामित्वमा सुन्धरामा सबै गरी ४ हजार ८ सय ७२ दशमलव ६९ बर्गमिटर जग्गा रहेको छ । ५ रोपनी क्षेत्रफलमा सिमित रहेको धरहरा अहिले भने ४२ रोपनी क्षेत्रफलमा पुनर्निर्माण हुँदैछ ।

सुन्धारामा प्राकृतिक प्रकृयाबाट पानी बगाउने चुनौती

धरहरास्थित सुन्धारामा मेलम्चिको पानी बगाउने इकाई योजना थियो । तर, धारामा प्राकृतिक प्राकृयाबाटै पानी बगाउनु पर्ने माग भएपछि इकाई अप्ठ्यारोमा परेको छ । विगतमा उक्त धारामा पाइपकै पानी प्रयोग भएको थियो । अहिले त्यो पानी पनि सुकिसकेको छ । प्राकृतिक प्रकृयाबाटै पानी बगाउन विज्ञसँग छलफल भइरहेको इकाईका निर्देशक अधिकारीले जानकारी दिए ।

उनले भने,‘सुन्धारमा मेलम्ची र बोरिङबाट तानेको पानी प्रयोग गर्ने योजना थियो । तर, पछि ‘नेचुरल प्रोसेस’बाटै उक्त धारामा पानी बगाउनु पर्ने माग भयो । ‘नेचुरल प्रोस्रेस’बाट पानी तब आउँछ जब, धाराभन्दा ‘वाटर लेबल’ माथि हुन्छ । त्यसैको खोजीमा विज्ञ जुटेका छन् ।’

इकाईका अनुसार धारा प्रयोगपछि फोहर पानी निकास हुने पाइप १५ फिट गहिरोमा छ । धारामा प्राकृतिक प्रकृयाबाटै पानी बगाउने काम ३० महिनाभित्र सक्ने सम्झौता भइएको इकाईको भनाई ।

इकाई कार्यालयका अनुसार अझै धरहरामा संग्रहालय निर्माणको काम बाँकी छ । अहिले उक्त काम दु्रत गतिमा अघि बढेको छ । निर्माण क्षेत्रमा विद्युतको तार र खानेपानीको पाइप व्यवस्थापनको काम पनि बाकी छ । सम्वन्धित निकायले समयमै व्यवस्थापन नगर्दा काम गर्न अप्ठ्यारो परेको इकाईको भनाई छ ।

धरहरा पुनर्निर्माणको लागत रकम ३ अर्ब ४९ करोड रुपैयाँ छ । जसमध्ये ७० प्रतिशत रकम भुक्तानी भइसकेको छ । ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । पुनर्निर्माणपछि धरहराको ‘अण्डरग्राउण्ड’मा भब्य ‘पार्किङ’ बन्दै छ । ‘पार्किङक’मा एकै पटक चार पाङ्ग्रे सवारी साधन ३ सय ४७ र मोटर साइकल ७ सय अटाउने छन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार ११:४४