सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत : उमेशलाल श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत : उमेशलाल श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी–व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुःख दिन थालेको बताएका छन्।

‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि समस्यामा परेको छ’, उनले भने, ‘अहिले सरकारले उद्योगी–व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको छ, जुन एकदमै गलत छ।’

आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै श्रेष्ठले अहिलेको अवस्थामा निजी क्षेत्रको मनोबल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए। ‘बजारमा आएको मागको गिरावटका कारण अहिले उद्योगी–व्यवसायीको सामान बिक्री हुने अवस्था छैन, जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौँ’, उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौँ भनेका छैनौँ तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ।’

देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै श्रेष्ठले अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने बताए।

यसैगरी श्रेष्ठले अहिलेको अवस्थामा व्यावसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको बताए। ‘त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको हुँ’, उनले भने।

अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न नसकेको श्रेष्ठले बताए। ‘जबसम्म जिल्ला नगर तथा वस्तुगतका साथीहरुले महासंघको केन्द्रीय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको मानिँदैन’, उनले भने।

अहिले महासंघको पुरानो गरिमामा आँच आएको भन्दै श्रेष्ठले आफूलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन’, उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउनेछु।’

यसैगरी कार्यक्रममा उमेशलाल समूहबाट जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए। महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताए। ‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरेसरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’, श्रेष्ठले भने।

यसका साथै श्रेष्ठले अहिलेको अवस्थामा व्यावसायिक हितका लागि फुटेरभन्दा पनि जुटेर अघि बढ्नुपर्ने अवस्था आएकाले आफूले उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा अघि बढाएकोसमेत बताए।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार १६:२२