कोभिड–१९ पछि पहिलोपटक १८० चिनियाँ पर्यटक नेपाल भ्रमणमा, थप ७०० आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

कोभिड–१९ पछि पहिलोपटक १८० चिनियाँ पर्यटक नेपाल भ्रमणमा, थप ७०० आउँदै



काठमाडौं। कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलोपटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एयरलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले स्वागत गरे।

नेपालका लागि चिनीयाँ राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी पनि त्यहाँ उपस्थित थिए।

चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए।

मन्त्री र राजदूच सोङबीच विमानस्थलमै भएको भेटका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडनको लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरे।

राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैं सकारात्मक भएको बताए।

कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने उनको भनाई छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने धारणा राखे।

उनले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूत समक्ष आग्रह समेत गरे।

एकसय ८० चिनियाँ पर्यटकहरुले बिहीबार हिमालय एयरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान गरेका हुन्।

आगामी चार्टर्ड उडानहरू मार्फत् थप सात सय यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एयरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, सन् २०२० मा १९ हजार २५७, सन् २०२१ मा ६ हजार १९६, सन् २०२२ मा ५ हजार ५९५ र सन् २०२३ को मार्चसम्म ६ हजार ३३७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित : ३० चैत्र २०७९, बिहीबार १५:१८