एनआरएनए अध्यक्ष कुल आचार्यले पाए सुप्रबल जनसेवाश्री पदक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

एनआरएनए अध्यक्ष कुल आचार्यले पाए सुप्रबल जनसेवाश्री पदक



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवा श्री पदक प्रदान गरिएको छ। नयाँ वर्ष बैशाख १ गते शितल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघका अध्यक्ष कुल आचार्यलाई उक्त पदक प्रदान गरेका थिए।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार आचार्य लगायत बेलायतमा बसोबास गर्ने व्यक्तित्वहरुलाई विभिन्न पदकहरु प्रदान गरिएको थियो। गत मार्च २०२२ मा एनआरएनए आइसीसीको अध्यक्षमा निर्वाचित भएका आचार्य हाल नेपालको संविधान २०७२ मा उल्लेख गरिएको गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने मिशनमा खटीरहेका छन् ।

सानैदेखि सामाजिक काममा रुचि राख्ने आचार्यले आफु जन्मेको पर्वत, धाइरिङ्गमा आफ्नै स्वर्गीय पिताको नाममा एउटा विद्यालय स्थापना गरेका छन्। यस बाहेक बेलायत र नेपालमा थुप्रै संघसंस्था, बाल गृह तथा वृद्धाश्रमहरुलाइ उनले सहयोग प्रदान गर्दै आएका छन्।

एनआरएनए युकेको अध्यक्ष हुँदा उनले नेप्लिज नर्सेज एसोसियसन युकेसंग मिलेर जुम्लामा एउटा बर्थिङ सेन्टर स्थापना गरेका थिए। उक्त बर्थिङ सेन्टरले प्रसुति सेवा प्रदान गरेर कैयौं शिशु तथा महिलाहरुको ज्यान बचाई रहेको छ। त्यस्तै उनले नवलपरासी जिल्लाको सुस्तामा रहेका विद्यालयलाइ पनि आर्थिक सहयोग गरेका थिए।

‘‘यो सम्मान मैले व्यक्तिगत रुपमा भन्दा पनि सिंगो गैरआवासीय नेपाली समुदायलाई गरिएको सम्मानको रुपमा लिएको छु,’ आचार्यले भने। उनले आगामी दिनमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा संसारभरि रहेका नेपालीहरुको सीप, पूँजी तथा अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्न आफु अरु बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सन् २०१५ मा नेपालमा महाभूकम्प गएको बेला होस् वा कोभिड १९ महामारीको बेला मानवीय सहयोग जुटाउन रात दिन खटी रहने आचार्यले संघको उपाध्यक्ष रहंदा काठमाडौंको बागमती नदी किनारमा शंखमुल पार्क निर्माण कार्यको संयोजन गरेका थिए।

सामाजिक काम बाहेक नेपालमा लगानी आकर्षित गरी रोजगारी अभिवृद्धि गर्न पनि उनले काम गरिरहेका छन्। नेपालमा बैंकिंग, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरेका आचार्यले एनआरएनएको युरोप क्षेत्रीय संयोजक, उपाध्यक्ष तथा सल्लाहकारको रुपमा काम गरिसकेका छन्। आचार्य बेलायतस्थित होली काउ समूहका अध्यक्ष पनि हुन्।

प्रकाशित : २ बैशाख २०८०, शनिबार १२:४७