हरेक शुक्रबार सरकारी कार्यालय सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हरेक शुक्रबार सरकारी कार्यालय सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । सरकारले डेंगी संक्रमण नियन्त्रणका लागि हरेक शुक्रबार सरकारी तथा सार्वजनिक कार्यालयमा सरसफाइ अभियान सञ्चालन गर्न सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबारबाट यो अभियान सञ्चालन गरेको हो।

यो अभियानअन्तर्गत हरेक शुक्रबार बिहान साढे १० बजेदेखि सबै कर्मचारी सहभागी भई १० मिनेट सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ।

आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले आआफ्नै स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेंगीविरुद्धको यो अभियान सफल बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी मन्त्रालयले डेंगी संक्रमणबाट बच्न सधैँ झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने सर्वसाधारणलाई सुझाव दिएको छ।

घरको झ्याल–ढोकामा जारी हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयो गर्ने, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्ने र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने उपाय अपनाए पनि डेंगी संक्रमणबाट बच्न सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार १३:४८