बीमा प्राधिकरण ५५ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बीमा प्राधिकरण ५५ औं वर्षमा प्रवेश



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण ५४ औं वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्रालयले २०२५ सालमा बीमा क्षेत्रलाई नियमन गर्न एउटा छुट्टै इकाईको स्थापना गर्ने निर्णय गर्यो । मन्त्रालयले स्थापना गरेको उक्त इकाई नै पछि गएर बीमा समिति बन्यो ।

यहि बैठकलाई आधार मानेर बीमा प्राधिकरणले वार्षिकोत्सव बनाउने गरेको हो । कतिपयले आजको दिनलाई बीमा दिवस पनि भन्ने गरेका छन् ।

करिब नौ महिना अघि बीमा ऐन २०७९ पारित भयो । भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि ऐन आएको हो । विधेयक पारित भएसँगै बीमा रुपान्तरित भएको छ । बीमा समिति स्वतः नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएसँगै बीमा क्षेत्रको निर्णय गर्ने स्वायत्त अधिकार थप प्राप्त भएको छ ।

बीमा क्षेत्रको समग्र विकाससँगै स्थानीय, तहमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमा प्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार, स्थानीय सरकारसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा व्यवसाय प्रवर्द्धन गर्न समिति निरन्तर लागि रहेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जनाएका छन् ।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणको ५५ औ वार्षिकोत्सव बीमा क्षेत्रका सबैको लागि गर्वको दिन भएको बताएका छन् । बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउदै जानु पर्ने भन्दै अध्यक्ष पौडेलले सबैको संयुक्त प्रयासमा मात्रै यो सम्भव हुने बताए ।

बीमा कर्मीहरुको ठुलो उपस्थितिले बीमा क्षेत्रको गरिमालाई बढाएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । यो समुहले बीमाको पहुँच बढाउन गाउँघरमा पुग्नु पर्ने उनको तर्क छ ।

ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गलाई बीमाको दायरामा ल्याउन, छिटो छरितो रुपमा सहज र सरल ढंगबाट दावी भुक्तानीको व्यवस्था गरी जनविश्वास अभिवृद्धि गर्न र जनचेतना जगाउन ६ वटा प्रदेशमा प्रादेशिक कार्यलय सञ्चालनमा ल्याएको छ । साथै, प्राधिकरणले अन्तर्राष्ट्रिय प्रचलनमा रहेका बीमाका नवीनतम सिद्धान्त एवं मान्यताहरू अवलम्बन गर्दै बीमासँग सम्बन्धित कानूनहरु समयसापेक्ष परिमार्जन गर्दै आएको छ ।

प्राधिकरणले बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्न, बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गरी बीमा क्षेत्रमा भएका अस्वस्थ्य प्रतिस्पर्धालाई न्युनीकरण गर्न तथा बीमाको गुणस्तरलाई वृद्धि गर्न बीमा कम्पनीहरू एक अर्कामा गाभ्ने तथा गाभिने कार्यलाई प्रोत्साहित गर्दै आएको छ ।

वित्तीय प्रणालीको एउटा महत्वपूर्ण आधारस्तम्भको रूपमा रहेको बीमा क्षेत्रले विभिन्न आरोह अवरोह पार गर्दै आएको छ । आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्म कुल जनसंख्याको ४४ प्रतिशत जनतासम्म बीमाको पहुँच पुर्याउन सफल भएको छ ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार ०८:०४