नीति तथा कार्यक्रम परम्परा धान्न मात्रैः स्वर्णिम वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नीति तथा कार्यक्रम परम्परा धान्न मात्रैः स्वर्णिम वाग्ले



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै रहेको बताएका छन् ।

सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको नीति तथा कार्यक्रमकाे छलफलमा बोल्दै डा.वाग्लेले यस्तो बताएका हुन ।

‘यो नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो । र, परम्परा धानिएको पनि छ,’ वाग्लेले भने ‘विगत १० बर्षदेखि सरकारका नीति तथा कार्यक्रम यस्तै यस्तै नै हो ।’

उनले थपे ‘सिद्धान्त र प्राथमिकता भने बजेट महाशाखाले दुई-चार दिनमै लेखिदिन्छ, नीति तथा कार्यक्रममा भने सबै मन्त्रालयबाट ५-१० ओटा बुँदा जान्छन् र मुख्य सचिवले गास्नु हुन्छ।’

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा. वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए।

उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलशमशेर जबराले सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने र किसानलाई समयमा मलखाद उपलब्ध गराउने विषयलाई ध्यान दिन आग्रह गरे।

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले नीति तथा कार्यक्रममा कुनै विषयलाई प्राथमिकता नदिइएको बरु कार्यक्रम छरिएर आएको टिप्पणी गरे।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १३:३२