ऋण चुक्ता नगर्ने ७० सहकारीलाई युवा स्वरोजगार कोषको ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ऋण चुक्ता नगर्ने ७० सहकारीलाई युवा स्वरोजगार कोषको ताकेता



काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० वटा सहकारीलाई ऋण चुक्ता गर्न ३५ दिने समयसीमा दिएको छ । कोषले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन उक्त सहकारीहरुलाई समयसीमा दिएको हो ।

‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने सावाँ, व्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ कोषले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

ऋण चुक्ता नगर्ने सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ सहकारी रहेका छन् भने कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिम प्रदेशका तीन सहकारी छन् ।

तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राख्ने जनाएको छ ।

थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार १४:३३