लगानीकर्ताले बुझाए देउवालाई ज्ञापनपत्र, राखे यस्ता ६ माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लगानीकर्ताले बुझाए देउवालाई ज्ञापनपत्र, राखे यस्ता ६ माग



काठमाडाैं । सेयर बजारका लगानीकर्ताका नेताहरुले आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पुँजीबजार विकास र सुधारका लागि विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन्।

पुँजीबजार सुधार सम्बन्धमा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा सभापति देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा पुँजीबजारको बृहत्तर विकासका लागि ७७ वटै जिल्लाका ७५३ वटा स्थानीय निकायसम्म सर्वसाधारणको सहज रुपमा सेयर खरिद–बिक्री गर्न पाउने संवैधानिक हक अधिकारलाई सुनिश्चित प्रदान गर्न आग्रह गरिएको छ। ‘करिब ५७ लाख लगानीकर्ताहरु सरकारप्रति पूर्ण आशावादी भई लगानी सुरक्षित छ भन्ने महसुस हुनेमा हामीले पूर्ण विश्वास लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ। ज्ञापनपत्रमा लगानीकर्ताहरुका प्रमुख ६ माग समेटिएका छन्।

यस्ता छन् मागहरू :

१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।

२. १२ करोड़ (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

३. सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

४. लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।

५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

माथिका मागहरू क्रमशः सम्बाेधन भै कार्यान्वयनमा ल्याउँदा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुन गई सरोकारवाला सर्वपक्षिय आयमा वृद्धि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा यस पुँजी बजारलाई स्थापना गर्न सक्षम र सफल हुने लगानीकर्ताहरूको धारणा छ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १४:१२