माथिल्लो तामाकोशीको निर्माण ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माथिल्लो तामाकोशीको निर्माण ठप्प



काठमाडौं।भूकम्पका कारण देशकै सबभन्दा ठूलो निर्माणाधीन जलविद्युत आयोजनाको काम ठप्प रहेपछि माथिल्लो तामाकोशीको सम्पन्न हुने अवधि लम्बिने निश्चित देखिएको छ।

भूकम्पबाट सबैभन्दा प्रभावित जिल्लामध्येमा पर्ने दोलखामा निर्माणस्थल रहेको उक्त आयोजनाको संरचनामा भूकम्पले गम्भीर क्षति नपुर्याएको भएपनि बाटोमा आइरहेको पहिरो र कामदारहरु काममा नफर्किएका कारण निर्माण कार्य रोकिएको आयोजना प्रमुखले बताएका छन्।

४ सय ५६ मेगावाटको उक्त आयोजनाको तीन चौथाई काम सकिइसकेको र अर्को साउन महिनासम्म सम्पन्न गरीसक्ने योजना थियो।

तर देशको लोडशेडिंग घटाउन ठूलो सहायक हुने ठानिएको सो आयोजना अब उक्त समयसीमाभित्र बन्न लगभग असम्भव रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्।

भूकम्प अगाडिनै मजदुर हडतालका कारण बिथोलिएको आयोजना निर्माण अहिले पूरै ठप्प रहेको छ। एक त आयोजनास्थलको बाटो बन्द रहेको र अर्को कामदारहरु नभएका कारण निर्माण कार्य रोकिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए।

“कामदार हुँदैनन्, मानिस छैनन्, परकम्प आइरहेका छन् अनि मानिसहरु त्रासमा छन्, त्यसकारण हामी अहिले फोर्स मजोरको स्थिति अर्थात नसोचिएको दैवी विपत्तिको अवस्थामा छौँ, अत्यावश्यक सुरक्षाका कार्य अनि थप क्षति हुन नदिने उपायबाहेक हामीले केही गर्न सकेका छैनौँ,” उनले भने।

स्वदेशी स्रोतकै परिचालनबाट ठूलो जलविद्युत आयोजना निर्माण गरिएको उदाहरणको रुपमा हेरिएको माथिल्लो तामाकोशीको कुल लागत करीब साढे ३५ अर्ब रुपैयाँ रहेको थियो।

प्रकाशित : ५ असार २०७२, शनिबार ११:२२