फागुनमा दैनिक साढे ४ अर्ब खर्चनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फागुनमा दैनिक साढे ४ अर्ब खर्चनुपर्ने



काठमाडौं, २  फागुन । सरकारले दोस्रो चौमासिक लक्ष्यअनुसार पुँजीगत खर्च गर्न फागुनमा दैनिक ४ अर्ब ५० करोड ७२ लाख रुपैयाँ खर्चनुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले दोस्रो चौमासिकसम्म नगद प्रवाहमा आधारित पुँजीगत खर्च ६० प्रतिशत गर्ने लक्ष्य राखेको थियो । तर, सात महिना पूरा भइसक्दा विनियोजित बजेट ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाखको १६.६५ प्रतिशत मात्रै खर्च भएपछि फागुनमा उच्च दरमा खर्च गर्नुपर्ने दबाब बढेको हो । आजको कारोबार दैनिकमा खबर रहेको छ ।

चालू वर्षको माघसम्ममा ५१ अर्ब ९५ करोड १२ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यद्यपि, यस अवधिमा भएको पुँजीगत खर्च अघिल्लो वर्षको तुलनामा भने बढी हो ।

रकमका आधारमा चालू वर्षको सात महिनामा भएको पुँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा झन्डै तीन गुणा बढी हो । गत वर्ष माघसम्म पुँजीगत खर्च विनियोजित बजेट २ खर्ब ८ अर्ब ८८ करोडको ८.४ प्रतिशत अर्थात् १७ अर्ब ४५ करोड रुपैयाँ मात्रै भएको थियो ।

चालू वर्षको माघमा भने दैनिक ५७ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ । तर, सरकारी लक्ष्य नै आर्थिक वर्षभर ८० प्रतिशत पुँजीगत खर्च गर्ने संशोधित लक्ष्य निर्धारण गरिएकाले त्यसअनुरुप लक्ष्य प्राप्ति गर्न भने केही कम खर्च गरेपनि लक्ष्य पूरा हुनसक्छ ।

 

चालू वर्ष ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व परिचालन लक्ष्य रहेकोमा माघसम्म

५६.६८ प्रतिशत अर्थात ३ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ असुली भएको छ ।

माघसम्म राजस्व असुलीभन्दा १५ अर्ब रुपैयाँ बढी खर्च भएको छ ।

 

सरकारले पुँजीगत खर्च बढाउन अनेकौं प्रयास गरे पनि खासै सुधार हुन भने सकेको छैन । प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयहरूले पुँजीगत खर्चमा जोड दिइ अनुगमनलाई तिव्रता दिए पनि अझै त्यसको असर विकास निर्माणमा पर्न सकेको छैन ।

खासगरी गौरवका आयोजना, पहिलो प्राथमिकता निर्धारण गरिएका ठूला आयोजना र भूकम्प प्रभावित क्षेत्रको उत्थानका लागि गरिनुपर्ने काम अघि नबढेपछि त्यसको समग्र असर पुँजीगत खर्चमा देखिएको हो ।

चालू आर्थिक वर्षको ७ महिनामा ३ खर्ब ३५ अर्ब ७८ करोड २४ लाख रुपैयाँ कुल खर्च भएको छ । यसअवधिमा भएको कुल खर्च विनियोजित बजेट १० खर्ब ४८ अर्ब ९२ करोडको ३२.०१ प्रतिशत हो ।

यस्तो खर्च गत आर्थिक वर्षको ७ महिनामा भएको कुल सरकारी खर्च २ खर्ब २ अर्ब ७२ करोडको तुलनामा करिव ६५ प्रतिशतले बढी हो । चालू वर्ष चालू खर्च ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख विनियोजन भएकोमा ४०.४२ प्रतिशत अर्थात २ खर्ब ४९ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ ।

रकमका आधारमा यो खर्च गत वर्षको यसै अवधिको तुलनामा करिव ६३ प्रतिशतले बढी हो ।समग्र खर्च रकम बढेसँगै माघमा आईपुग्दा राजस्व असुलीभन्दा खर्च बढी हुन पुगेको छ ।

चालू वर्ष ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व परिचालन लक्ष्य रहेकोमा माघसम्म ५६.६८ प्रतिशत अर्थात ३ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ असुली भएको छ । माघसम्म राजस्व असुलीभन्दा १५ अर्ब रुपैयाँ बढी खर्च भएको छ ।

गत पुसम्म भने कुल खर्चभन्दा राजस्व असुली बढी थियो । गत वर्ष समग्रमा राजस्व परिचालन अघिल्लो वर्षको तुलनामा १०.२ प्रतिशतले घटेर १ खर्ब ९३ अर्ब ४८ करोडमा सीमित भएको थियो । गत वर्षको ७ महिनासम्म वार्षिक राजस्व लक्ष्य ४ खर्ब ७५ अर्बको ४०.७ प्रतिशत मात्रै परिचालन भएको थियो ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०४:२२