वाणिज्य बैंकहरुको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंकहरुको नाफा कति ?



काठमाडौँ  ५ फागुन । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २८ वटा वाणिज्य बैंकले २१ अर्ब ८ करोड खुद मुनाफा कमाएका छन् । यस वर्षको यो अवधिमा कमाएको नाफा गएको वर्षको सोही अवधिको तुलनामा ४२.८१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ३० वटा वाणिज्य बैंकले १४ अर्ब ७६ करोड नाफा गरेका थिए । यस वर्षको पुस मसान्तसम्म ३ वटा वाणिज्य बैंकले साढे एक अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ वटा बैंकको नाफा अर्बभन्दा माथि छ ।

उक्त अवधिमा अन्य वाणिज्य बैंकहरूको मुनाफा पनि उल्लेख्य रूपमा बढेको देखिन्छ । गतवर्ष ग्रान्ड बैंक प्रभुमा र लुम्बिनी बैंक बैंक अफ काठमाडौंमा गाभिएका थिए । गत वर्षको पुससम्म जम्मा चारवटा वाणिज्य बैंकले मात्रै एक अर्बभन्दा बढी नाफा कमाउन सफल भएका थिए । यस वर्ष प्रभु र हिमालयन बैंक ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा थपिएका हुन् । गत पुससम्म नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा साढे एक अर्बभन्दा माथि छ भने राष्ट्रिय वाणिज्य बैंक, प्रभु र हिमालय बैंकको नाफा पनि एक अर्बभन्दा माथि छ ।  यस वर्षको दोस्रो त्रैमासिकसम्म २६ वटा निजी बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक छ भने निजीतर्फको दोस्रो बढी नाफा कमाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक छ । यी दुबै बैंकले गत वर्षको भन्दा क्रमशः २९.३५ र ४७ प्रतिशतले बढी नाफा कमाएका हुन् ।

प्रभु बैंकले गत वर्षको तुलनामा १७४.२१ र हिमालयन बैंकले २८.१३ प्रतिशत बढी नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा परेको नेपाल बैंकले यस वर्षको समीक्षा अवधिमा एक अर्ब ८९ करोड नाफा कमाएको छ । सो नाफा गत वर्षको सोही अवधिको भन्दा ८०.८० प्रतिशतले बढी हो भने वाणिज्य बैंकको नाफा १३.६० प्रतिशतले बढेको आजको अन्नपूर्ण पोष्टमा खबर छ । यस वर्षको दोस्रो त्रैमासिकसम्म नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सबैभन्दा कम नाफा कमाएको छ । गत वर्षको पुससम्म २४ करोड ६८ लाख नाफा कमाएको उक्त बैंकले यस वर्ष यो अवधिसम्म ७ करोड ७६ लाख १९ हजार मात्र नाफा कमाएको छ । यस वर्षको बीचमा बैंकले मर्जरको प्रक्रियामा विभिन्न समस्या झेल्नुपरेकाले अन्य बैंकहरूको तुलनामा कम नाफा कमाएको हो ।

यस वर्षको सो अवधिमा जनता बैंकले १६ करोड १३ लाख नाफा कमाएको छ भने सिभिल बैंकले १६ करोड ७३ लाख नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूको चुक्ता पुँजी बढाएर अर्ब पुर्‍याउन गरेको निर्देशनका कारण बैंकहरूले लगानी विस्तार गर्दा नाफा बढ्न गएको हो । गत वर्षको असार मसान्तसम्म १३ खर्ब ८२ करोड १२ लाख रहेको वाणिज्य बैंकहरूको कर्जा प्रवाह यस वर्षको यो अवधिसम्म आइपुग्दा १५ अर्बभन्दा माथि कर्जा प्रवाह भएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार ०५:४५