Feature News

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा



पाँचथर, ६ फागुन । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारण-लाइनमा जोडिएको छ ।

यसअघि कावेली कोरिडोर प्रसारण लाइन अन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटन पश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको थियो ।

यो आयोजनाबाट अब जम्मा १४.९ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल मङ्सिरमा सम्पन्न भई उत्पादन परीक्षण गरिएको थियो ।

पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा रु दुई अर्ब ६० करोड खर्च लागेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।

उनले भने, “सुरुवातमा आयोजना सकिँदा रु दुई अर्ब २५ करोड रकम लाग्ने अनुमान गरिएपनि पछि नाकाबन्दी, भूकम्प, बन्द हडतालका कारण लागत बढ्न पुगेको हो ।”

यस्तै, उनले प्रक्रियामा रहेको हुँदा चाँडै पब्लिक सेयर समेत निष्कासन हुने जानकारी गराए ।

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार ०६:०५