विद्यालय पुनर्निर्माणमा एयर एसिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विद्यालय पुनर्निर्माणमा एयर एसिया



काठमाडौं। एयर एशियाले गत बैशाख १२ गतेको महाभुकम्पले क्षति पुर्याएका विद्यालहरूका मर्मत र पुनर्निर्माणका लागि नेपालस्थित साझा शिक्षा ई-पाटी (OLE Nepal)नामक संस्था मार्फत सहयोग गर्ने जानकारी सार्वजनिक गरेको छ। सहयोगका लागि चन्दा संकलन गर्न एयर एशियाले मे महिनाको ६ देखि २२ तारीख सम्म लागू हुने गरि टु नेपाल वीथ लभ (नेपालको लागि मायाको साथ) शीर्षकको अभियान थालनी गरेको छ। यस अभियान अन्तर्गत हवाई यात्रुहरुले एयर एशियाका उडान र यस विमान संचालन हुने विमानस्थलका चन्दा वाकसमा र अन्यले एयर एशियाको वेबसाइट मार्फत सहयोग गर्न सकनेछन् । यस अभियानबाट संकलित रकम गोरखा जिल्लाका विद्यालयहरूका पुनर्निर्माण तथा मर्मतका साथै विद्यालय निर्माणको क्रममा प्रभावित बालबालिकाहरुको शिक्षामा निरन्तरता दिने कार्यक्रमहरूमा लगाइने योजना रहेको एयर एसियाले जनाएको छ।

यस कार्यक्रम बारे प्रकाश पार्दै एयर एशिया एक्स समूहका प्रमुख कार्यकारी अधिकारी कामारुदिन मेरानुन भन्नुहुन्छ,“यस्तो विपतको बखत हाम्रा साधन र स्रोतहरू सञ्चालन गरि सेवा पुर्याउन हाम्रो दायित्व हो । यस अभियान मलेसियाबाट शुरुआत गरि थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स र भारतमा पनि सञ्चालन गरिंदै छ।”

स्थानीय स्तरमा यस सहयोग परिचालनका लागि एयर एसियाले नेपालमा शिक्षाको क्षेत्रमा कार्य गर्दै आएको साझा शिक्षा ई-पाटी (OLE Nepal) सँग सहकार्य गर्नेछ। सन् २००७ मा स्थापना भएको साझा शिक्षा ई-पाटीले नेपाल सरकारको शिक्षा सम्वन्धि सरोकारवाला निकायहरुसंगको सहकार्यमा शिक्षामा सूचना र प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तर अभिवृद्धिका तथा गुणस्तरिय शिक्षामा समान पहुँचका लागि कार्य गर्दै आएको छ।

प्राप्त हुने सहयोग परिचालनको सम्बन्धमा साझा शिक्षा ई पाटीका कार्यकारी निर्देशक रवि कर्माचार्य भन्नुहुन्छ “विद्यालय मर्मत र पुनर्निर्माण गर्नुका साथै सुरक्षित तथा बालमैत्री पढ्ने स्थान उपलब्ध गराउनु हाम्रो प्राथमिकता रहने छ। सकेसम्म छिट्टो सुरक्षित वातावरणमा पढ्ने मौका प्रदान गर्दा बालबालिकाहरूलाई भुकम्पबाट परेका मानसिक भय र त्रासबाट मुक्ति मिल्न सहयोग पुर्याउँदछ।” यस सहयोग मार्फत साझा शिक्षा ई-पाटीले विद्यार्थीहरुलाई डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्नेछ।

एयर एशियाले भुकम्प पश्चात तेस्रो दिन सार्वजनिक उडानका लागि हवाइमार्ग खोल्दा देखि नै खोजि तथा उद्दारका लागि नेपाल आउने अन्तर्राष्ट्रिय टोलि तथा संस्थाहरूका लागि आफ्ना उडानहरूमा निशुल्क सिट प्रदान गर्दै आएको छ। जस अन्तर्गत मलेसियाका तथा इन्डोनेसियाका उद्दार तथा सहयोग संघहरू नेपाल आएका थिए। यस अघि पनि एयर एशियाले फिलिपिन्समा आएका समुद्री आँधीहरू (सन् २०११, २०१३), म्यानमारको आंधी (२००८), ऐशियन सुनामी (२००४), चीनको सिचुवान (२००८) र जापानको फुकिसि (२०११) का भुकम्पहरू जस्ता विपतका घडिमा उद्दार कार्यमा अग्रसर भूमिका निभाएको थियो ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार ११:०१