शेयर कारोबार अनिश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर कारोबार अनिश्चित



काठमाडौं। महाभुकम्पले देशमा ठूलो धनजनको क्षति गरेपछि बैसाख १३ गते यता नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार अबरुद्ध रहेकोमा अनिश्चितकालका लागि कारोबार स्थगित गरिएको छ ।

नेप्सेले शेयर दलालहरुले आफ्नो कार्यालयमा क्षति पुगेको भनी निबेदन गरेको र सीडीएससी रहेको भवन चर्किएको कारण देखाउँदै अनिश्चित कालका लागि कारोबार स्थगित गरेको हो । नेप्से संचालक समितिको आईतबार बसेको बैठकले शेयर दलालहरुले भुकम्पका कारण आफ्ना कर्मचारीहरु तत्काल काममा फर्किन नसक्ने अबस्था रहेको र सीडीएससीको कार्यालय ‘रहेको शिखर बिज सेन्टरको भवन चर्किएर राफसाफको काम गर्न नसकिने अबस्था आएको बारेमा छलफल गर्दै तत्काल कारोबार संचालन नगर्ने निर्णय गरेको हो ।

नेपाल ईन्भेष्टर फोरम र ब्रोकर एशोसियशनले भुकम्प पीडितको राहतमा जुट्न परेको कारण देखाउँदै शेयर कारोबार एक महिनापछि सार्न माग गरेका थिए । बैठकपछि नेप्सेले जारी गरेको प्रेस बक्तब्यमा कारोबार संचालन हुने मिति नतोकी छिटो भन्दा छिटो कारोबार संचालन गर्न प्रयास भईरहेको र यसले चाडै नतिजा दिने उल्लेख गरिएको छ । अहिलेको अबस्थामा शेयर कारोबार संचालनमा ल्याउदा बजार थाम्न नसक्ने गरी घट्ने आँकलन गर्ने केही लगानीकर्ताहरुलाई भने यसबाट राहत पुगेको देखिएको छ ।

यसैबीच नेप्सेले भुकम्प पीडितहरुको राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएको छ । साथै नेप्सेका कर्मचारीहरुले सात दिन बराबरको पारिश्रमिक सो कोषमा दाखिला गर्ने जनाईएको छ ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार ०९:३९