कामदार थुन्‍ने अधिकृतलाई भ्रष्टाचार मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामदार थुन्‍ने अधिकृतलाई भ्रष्टाचार मुद्दा



काठमाडौं : ठगीमा संलग्नम्यानपावर कम्पनीलाई कारवाही गर्नुको सट्टा आर्थिक लाभ लिएर वैदेशिक रोजगारीमा मलेसिया पुगेर फर्केका पीडित कामदारलाई थुनेको अभियोगसहित वैदेशिक रोजगार विभागका तत्कालिन कानुन अधिकृत बाबुराम पाण्डेविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

विभागमा रहँदा अनुसन्धान अधिकृतसमेत रहेका पाण्डे हाल सामान्य प्रसासन मन्त्रालयको कानुन अधिकृतमा कार्यरत थिए।

सम्झौतामा भने अनुसारको काम र सेवासुविधा नपाएको भन्दै मलेसियाबाट फर्किएका कामदारले प्यासिफिक ओभरसिज कन्सल्ट्यान्ट प्रालिका सञ्चालक तितु घलेमाथि कारवाहीका लागि वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेका थिए।

कामदारका रुपमा गएका टिकाराम उप्रेती र कमलप्रसाद उप्रेतीलगायतले कारबाहीका लागि उजुरी दिएका हुन्। म्यानपावर कम्पनीलाई कानुनी कारवाही गरी क्षतिपूर्ति भराउन पीडित कामदारको माग थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनकाक्रममा पाण्डेले उल्टै यानपावरसँग आर्थिक लाभ लिंदै उजुरीकर्तालाई थुनामा राखेर उजुरी फिर्ता लिन बाध्य पारेको तथ्य खुलेको छ।

पाण्डे आफैंले पीडितलाई डर त्रास देखाउँदै सहमती र सनाखतको व्यवहोरासमेत लेखेर पछि हिरासत मुक्त गरेको दाबी अख्तियारको छ।

उजुरी फरफारक गर्न पीडितलाई कब्जामा लिएर वन्दी बनाउँदै गलत लिखत तयार गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐनको दफा ९ अनुरुप पाण्डलाई सजाय गर्न अख्तियारको माग छ।

उक्त दफामा कुनै लिखत तयार गर्ने कर्तव्य भएको राष्ट्र सेवकले नेपाल सरकार वा सरकारी निकाय वा सार्वजनिक संस्था वा कुनै व्यक्तिलाई हानि पुर्‍याउने बदनियतले त्यस्तो कुनै लिखत तयार गरेमा निजलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक बर्षसम्म कैद र दश हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

पाण्डे सोमबारबाटै निलम्वनमा परेका छन्। यता पाण्डेसँगको मिलेमतोमा उजुरी एवं कारबाहीबाट उन्मुक्ति लिएको भन्दै प्यासीफिक ओभरसिजका सञ्चालक घलेलाई पनि कानुन अनुरुप भ्रष्टाचारमा कारवाहीको माग गरिएको छ।

आजको अन्नपुर्ण पोष्टबाट

प्रकाशित : ८ असार २०७२, मंगलवार ०२:३१