‘मोष्टवान्टेड’ दुगडलाई कुमारी बैंकको संरक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘मोष्टवान्टेड’ दुगडलाई कुमारी बैंकको संरक्षण



काठमाडौं, ४ चैत  । नाकाबन्दीको मौका छोपी सर्वसाधारणलाई ठगी गरेका केएल दुगड ग्रुपका उपाध्यक्ष नरेश दुगडलाई सञ्चालकमा कायमै राखेपछि कुमारी बैंकमाथि छानबिन हुने भएको छ । बैंकिङ कसुर ऐनअन्तर्गत ठगी अभियोगमा अदालतमा मुद्दा खेपिरहँदा पनि दुगड भने बैंकको सञ्चालकमा कायमै रहेको देखिएपछि कुमारी बैंक र अध्यक्षसहित सबै सञ्चालकमाथि छानबिन हुने भएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

नाकाबन्दीको समयमा मौका छोपी सर्वसाधारणलाई ठगी गरेको प्रमाण फेला परेपछि फरार रहेका केएल दुगड ग्रुपका सञ्चालकहरू भर्खरै मात्र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएर हाल उच्च अदालत पाटनमा मुद्दा खेपिरहेका छन् । दुगड ग्रुपकाका उपाध्यक्ष समेत रहेका नरेश दुगडविरुद्ध ठगी र कालोबजारी अभियोगमा मुद्दा दायर भए पनि कुमारी बैंकले उनलाई अझै सञ्चालककै रूपमा राखेको छ ।

अदालतमा मुद्दा दायर भएलगत्तै सञ्चालकबाट स्वतः पदमुक्त गर्नुपर्नेमा बैंक सञ्चालक समितिले उनलाई कुनै कारबाही नगरी उल्टै बैंकमा महत्ववपूर्ण हैसियतमा राखेको हो । बिहीवार रातीसम्म पनि बैंकको आधिकारिक वेबसाइटमा दुगड सञ्चालक रहेको उल्लेख छ । नेपाल राष्ट्र बैंकका अनुसार ठगी आरोपमा अदालतमा मुद्दा खेपिरहेका र प्रहरीको खोजीमा रहेका व्यक्ति बैंकको सञ्चालक हुन पाउँदैन । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले कुनै पनि नैतिक तथा फौजदारी अभियोग लागेको व्यक्ति बैंकको सञ्चालक हुन नपाउने प्रष्ट ब्यवस्था रहेको बताए । यस्ता व्यक्ति कुनै बैंकमा सञ्चालक रहेको भए उनीहरूमाथि कानुनी कारबाही हुने उनको भनाई छ ।

राष्ट्र बैंकका अर्का उच्च अधिकारीका अनुसार ठगीको अभियोग खेपिरहेका दुगड ग्रुपका उपाध्यक्ष नरेशका साथै सिंगो कुमारी बैंकमाथि नै छानबिन र कारबाहीको तयारी भइरहेको छ । ठगी अभियोग लागेका व्यक्ति सञ्चालक भइरहेको जानकारी राष्ट्र बैंकमा रहेको भए पनि कसैले आधिकारिक रूपमा उजुरी नगरेकाले त्यसको पर्खाइमा बैंक बसेको ती अधिकारीले बताए । उनीमाथि उजुरी परेलगत्तै बैंकिङ कसुरअन्तर्गत कारबाही हुने उनले बताए । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले शक्तिको आडमा उपभोक्तामाथि लामो समयदेखि ठगी गर्दै आएको दुगड ग्रुपका सञ्चालकलाई उन्मुक्ति दिने प्रपञ्च रचिँदै आएको बताए ।

मञ्चले सुरुदेखि नै यस विषयमा सरकारी संयन्त्रलाई खबरदारी गर्दै आएको भए पनि राज्य संयन्त्र नै उनीहरूको संरक्षणमा लागेको आरोप उनको छ । अध्यक्ष महर्जनले प्रहरी प्रशासनले समेत मुद्दा फितलो बनाएको आरोप लगाए । महर्जनले दोषीमाथि कारबाही गर्न अदालतमा मुद्दा परेको अवस्थामा मुद्दा दायर गर्ने पक्ष नै सक्रिय नभएको उल्लेख गरे । प्रहरी प्रशासन र मुद्दाका पक्षधर नै फितलो रूपमा प्रस्तुत हुँदा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्दै गएको गुनासो उनले गरे । यद्यपि, उपभोक्तामाथि चरम शोषण गर्नेहरूलाई उन्मुक्ति दिइए त्यसविरुद्ध मञ्च उत्रने चेतावनी उनले दिए ।

दुगड समूहको अनियमितताविरुद्ध प्रहरी र उपभोक्ता हित संरक्षण मञ्चको जाहेरीमा अदालतमा मुद्दा विचाराधीन छ । कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरू किसनलाल दुगड, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न प्रहरीले सादा पोसाकमा विशेष संयन्त्र बनाई परिचालन गरेको टोली उपत्यका केन्द्रित बनेको भए पनि जिल्ला अदालतले साधारण धरौटी लिएर रिहा गरेको जानकारीपछि प्रहरी पछि हटेको छ ।

डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीस्थित गोदाममा छापा मारी बढी मूल्यमा बेच्न स्टिकर परिवर्तन गरिएको चार ट्रकभन्दा बढी खाने तेल बरामद गर्दै ९ करोड रुपैयाँभन्दा बढी ठगी कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । दालतले सबै सञ्चालक दोषी रहेको भन्दै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले ठगीमा साथ दिएको भन्दै कम्पनीका म्यानेजर अमन जैन र प्रमोद अधिकारीलाई पक्राउ गरेको थियो ।

तर, सञ्चालकहरू भने लाखौं रुपैयाँ खर्च गरी जोगिँदै अएका छन् । नाकाबन्दीको समयमा खाने तेलको मूल्य बढाई बिक्री गरे पनि सम्बन्धित निकायले चासो नदिँदा अभियुक्तहरू लामो समयसम्म बच्दै आएका छन् । दुगड ग्रुपले राज्य संयन्त्रलाई प्रभावमा पारी लामो समयदेखि राजस्व छली गर्दै आएको उजुरीसमेत परेको स्रोतको भनाइ छ । यद्यपि, हरेक सरकारी निकाय दुगडलाई उन्मुक्ति दिन लागेको उपभोक्ता मञ्चको भनाइ छ ।

प्रकाशित : ४ चैत्र २०७३, शुक्रबार ०५:२०