दाता सम्मेलन कर्मकान्डीरुपमा सम्पन्न गर्न खोजेको भन्दै सरकारको आलोचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दाता सम्मेलन कर्मकान्डीरुपमा सम्पन्न गर्न खोजेको भन्दै सरकारको आलोचना



काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले यही आषाढ १० गते हुने दातृ निकायका प्रतिनिधिहरुको सम्मेलनका लागि सरकारको तयारी सन्तोषजनक नभएको भन्दै सम्मेलनका लागि स्पष्ट योजना बनाउन सुझाव दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुले सम्मेलनका लागि सरकारको तयारी सुस्त भएको र कार्यसूची पनि स्पष्ट नभएको भन्दै असन्तुष्टि  जनाएका हुन् । समितिमा सदस्यहरुले ‘दाता सम्मेलन कर्मकान्डीरुपमा सम्पन्न गर्न खोजेको’ भन्दै सरकारको आलोचना गरेका थिए ।

यस्तै, उनीहरुले परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र अर्थमन्त्री डा. रामशरण महतबीचको विवादका कारण सम्मेलनमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री सहभागी नहुने अवस्था बनेको भन्दै मन्त्रीहरुलाई सम्झाउन नसकेकोमा प्रधानमन्त्री सुशील कोइरालाको आलोचना गरेका थिए ।

बैठकमा सहभागी अर्थ मन्त्रालयका सचिव सुमनकुमार शर्माले भने ‘सम्मलेनको सम्पूर्ण तयारी पूरा भएको र ५३ देशका प्रतिनिधिहरु सहभागी हुने निश्चित भएको’ जानकारी गराएका थिए । उनले सरकारले दातृ निकायलाई ऋण मिनाहका लागि आग्रह नगर्नेसमेत स्पष्ट पारे ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्द नेपालले पुनःनिर्माणका लागि ६ खर्व ७० अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएका थिए ।

प्रकाशित : ८ असार २०७२, मंगलवार ११:२२