ग्लोबल बैंकबाट निकालेको रकम लुट्नेहरु पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल बैंकबाट निकालेको रकम लुट्नेहरु पक्राउ



काठमाडौं। उपत्यकाका शृंखलाबद्ध चोरी र लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झण्डै पांच महिना लामो अनुसन्धानपछि बैंक, सुनका गहना, गाडी र मोटरसाइकल चोरी गर्ने र काठमाडौंमा धनमाल जोड्ने गिरोहलाई पक्राउ गरेको हो ।

२०७१ साल माघ २१ गते काठमाडौंको मध्यवानेश्वरस्थित ग्लोबल आइएमई बैंक अगाडि एक महिलाको साथबाट १८ लाख रुपैंया लुट्नेको खोजी प्रहरीको लागि निकै चुनौतिपूर्ण बनिरहेको थियो । त्यसपछि भएका थप चारवटा लुटपाटका घटनाले प्रहरीको टाउको दुखाएको थियो । लगातार ५ महिनाको प्रयासपछि प्रहरीले उपत्यकामा भएका ठूला लुटपाटमा घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

रामेछापका सागर भन्ने टिका थापा मगर, मिलन कान्छा भन्ने तेजबहादुर थापा मागर र चितवनका प्रेम महतो चौधरीलाई पक्राउ गरेपछि प्रहरीले लुटपाटको नया“ शैली पनि पत्ता लगाएको छ । छुट्टाछुट्टै गाडी तथा मोटरसाइकल लिएर जाने, लुट्ने र छुट्टाछुट्टै भाग्ने यो गिरोहको शैली हो ।

यिनीहरुको साथबाट एउटा बोलेरो जीप, ७ वटा मोटरसाइकल तथा नक्कली बिलबुक बरामद भएको छ ।

यो गिरोहले अहिलेसम्म चोरी तथा लुटपाट गरेर कति पैसा संकलन गरे खुल्न सकेको छैन । तर बैंक, सुनका गहना तथा गाडी र मोटरसाइकललाई मुख्य निशानामा पार्ने यिनीहरुले बैंक लुटेको पैसाले मात्रै काठमाडौंमा जग्गा किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उपत्यकमा नयां स्वरुप र शैलीमा लुटेराहरु सक्रिय हुन थालेपछि प्रहरीलाई चुनौति थपिएको छ । यो चुनौति सामना गर्न महानगरीय अपराध महाशाखाले पनि विशेष अपे्रशन सुरु गरेको छ ।

प्रकाशित : ९ असार २०७२, बुधबार ०७:५७