चीनले ६० अर्ब र जापानले २० अर्ब दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चीनले ६० अर्ब र जापानले २० अर्ब दिने



काठमाडौं । विदेशी राष्ट्र तथा दातृ निकायले ‘आकर्षक’ पुनर्निर्माण प्याकेज नेपाललाई दिने भएका छन्। सरकारले बिहीबार गर्ने ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन काठमाडौं आइपुगेका विभिन्न देशका मन्त्रीले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त संकेत गरेका हुन्।

नागरिक दैनिकमा सुरेन्द्र पौडेल लेख्छन् –भारतीय विदेशमन्त्री सुषमा स्वराज, चिनियाँ विदेशमन्त्री वाङ यी, नर्वेका विदेशमन्त्री बोर्जे ब्रेन्डी, जापानका विदेश राज्यमन्त्री मिनोरू किउची, बंगलादेशका अर्थमन्त्री अबुल माल ए महथ र श्रीलंकाका विपद व्यवस्थापन मन्त्री एएचएम फाउजीले काठमाडौं आइपुगेकै दिन बुधबार प्रधानमन्त्री कोइरालासँग शिष्टाचार भेट गरी पुनर्निर्माणमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

‘सबै देशका मन्त्रीले नेपाललाई पुनर्निर्माणमा आवश्यक पर्ने सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनुभयो,’ प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने। परराष्ट्र मन्त्रालय स्रोतअनुसार सम्मेलनमा सहभागी हुन आएकामध्ये ४ राष्ट्र तथा दातृ निकायले मात्र १ खर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने जनाउ प्रधानमन्त्रीलाई दिएका छन्। यसको आधिकारिक घोषणा भने उनीहरूले बिहीबार हुने सम्मेलनमा गर्नेछन्।

स्रोतका अनुसार नेपालको पुनर्निर्माणमा सबैभन्दा बढी आर्थिक सहयोग चीनले गर्ने भएको छ। प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री यीले चीनले ६० करोड अमेरिकी डलर (करिब ६१ अर्ब २० करोड रुपैयाँ) नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। यस्तै, जापानका विदेश राज्यमन्त्री किउचीले प्रधानमन्त्री कोइरालासँगको भेटमा २० करोड अमेरिकी डलर (करिब २० अर्ब ४० करोड रुपैयाँ) सहयोग गर्ने बताए। भारतले भने बिहीबार नै सहयोग प्याकेज सार्वजनिक गर्ने जनाउ दिएको स्रोतले जनायो।

युरोपेली युनियन (इयु) ले भने नेपालको पुनर्निर्माणलाई १० करोड युरो ( करिब ११ अर्ब ४० करोड रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपालको चौथो ठूलो दातृ राष्ट्र नर्वेले पनि पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर (करिब ५ अर्ब १० करोड रुपैयाँ) दिने प्रतिबद्धता गरेको स्रोतले बतायो।

वैशाख १२ गते ७.६ म्याग्निच्युडको भूकम्पले ठूलो जनधन क्षति गरेपछि पुनर्निर्माणमा सहयोगका लागि सरकारले मित्र राष्ट्र र दातृ निकायलाई आग्रह गरेको थियो। यसकै लागि सरकारले असार १० गतेलाई अन्तर्राष्ट्रिय सम्मेलन घोषणा गरेको थियो। सम्मेलनमा सहभागी हुन ५६ राष्ट्र तथा दातृ निकायका २ सय ८० प्रतिनिध काठमाडौं आइपुगेका छन्।

‘भूकम्पपछि कस्ता घर बनाउने, विकासलाई कसरी अघि बढाउने, पुनर्निर्माण योजना कस्तो बनाउने भन्ने ठूलो चुनौती छ। हामीले यो पीडा गुजरातमा भोगेका थियौं,’ प्रधानमन्त्रीसँगको भेटमा भारतीय विदेशमन्त्री स्वराजले भनिन्, ‘भूकम्पपछिको पुनर्निर्माणलाई अवसरका रूपमा लिनुहोला। त्यसका लागि आवश्यक सहयोग गर्न हामी तयार छौं। म हाम्रो प्रधानमन्त्रीको यही सन्देश लिएर आएको हुँ।’

सम्मेलनमा सहभागी हुन आएका अन्य देशका विदेशमन्त्री समकक्षी महेन्द्रबहादुर पाण्डेसँग द्विपक्षीय भेटवार्ता गरेर प्रधानमन्त्री कोइराला भेट्न बालुवाटार पुगेका थिए भने भारतीय विदेशमन्त्री स्वराज शिष्टाचार भेट गर्न सिधै बालुवाटार गएकी थिइन्। परराष्ट्रका अनुसार विदेशमन्त्री स्वराजको परराष्ट्रमन्त्री पाण्डेसँग बिहीबार सम्मेलनस्थल सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता हुनेछ।

चिनियाँ विदेशमन्त्री यीले पनि भेटमा नेपालको पुनर्निर्माणमा जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताए। ‘यो दुःखको घडीमा हामी तपाईंहरूसँगै छौं। हामी सहयोग गर्न तयार छौं,’ यीले प्रधानमन्त्रीसँगको भेटमा भनेका थिए।

जापानका विदेश राज्यमन्त्री किउचीले पनि नेपालको पुनर्निर्माणमा आफ्नो देश जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए। यस्तै प्रतिबद्धता नर्वेका विदेशमन्त्री ब्रेन्डीले गरेका थिए। ब्र्रेन्डीले प्रधानमन्त्री कोइरालासँगको भेटमा नर्वे नेपालको जलविद्युत परियोजनामा सहयोग गर्न समेत तयार रहेको बताए। ‘हामी नेपालको जलविद्युतमा सहयोग गर्न तयार छौं। त्यसका लागि के गर्नुपर्छ भन्नुस्,’ ब्रेन्डीले भनेका थिए।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार केही दातृ निकायले सम्मेलनमा नेपालको पुनर्निर्माणमा दिने सहयोग प्याकेज घोषणा गर्नेछन् भने केही नेपालले पुनर्निर्माणका कार्य कसरी गर्छ त्यो हेरेर मात्र घोषणा गर्ने मनस्थितिमा छन्। बंगलादेश, जापान, चीन, नर्वे, श्रीलंकाका मन्त्रीहरूले परराष्ट्रमन्त्री पाण्डेसँगको द्विपक्षीय भेटवार्तामा पनि नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए।

प्रकाशित : १० असार २०७२, बिहीबार ०२:३३